-->
Ronald Robertson

Salik Khatry

Designer, Disability Rights Activist

सम्मानले दिलाएको खुसी संगै दुःखका कुरा

आफ्नै घरको आँगनमा चौथो नौमती महोत्सवको मायाको चिनो ग्रहण गर्दै म (फोटो: विवेक काफ्ले/विष्णु प्रसाद आचार्य)


 गत कार्तिक ३ र ४ गते मुसिकोट नगरपालिकाको केन्द्र वामीटक्सारमा अवस्थित म अध्ययन गरेको विद्यालय महेन्द्र आदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा चौथो नौमती सांस्कृतिक महोत्सव तथा वामी मेला सम्पन्न भयो। कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न सहयोग गर्ने सबैजना प्रति हार्दिक आभार व्यक्त गर्दछु।

मान्छेका दुःख यतिसम्म हुने रहेछन् भन्ने अनुभवले नै बतायो। मेरो निकटतम र सबैभन्दा प्यारो संस्था मध्येको एक वामी-विश्व सम्पर्क मञ्च, नौमती सांस्कृतिक समितिद्वारा आयोजित चौथो नौमती महोत्सव तथा वामी मेला-२०८१ मा उपस्थितिका लागि विशेष आमन्त्रण हुँदाहुँदै पनि स्वास्थ्य तथा शारीरिक प्रतिकुलता कै कारण उपस्थित हुन असमर्थ भएँ। दुई वर्षअघि कार्यक्रम स्थलमा सशरीर उपस्थित भएपनि यसपाली स्वास्थ्य र शारीरिक अवस्था झन बढि प्रतिकूल भएको महसुस गरेको छु। लाग्छ आगामी कार्यक्रमहरुमा त ओछ्यान छोडेर ह्विलचेयरमा बस्न पनि सक्दिनँ। ‌दिनप्रतिदिन बढ्दै गएको स्वास्थ्य जटिलता र कुँजिदै गइरहेको शरीरका कारण आगामी दिनहरुमा कार्यक्रम स्थलमा उपस्थित हुने कुरा त परै जाओस् सम्मान पाउन योग्य काम गर्न र पिँढी वा आँगनमा बसेर सम्मान ग्रहण गर्न पनि नसकिएला।

तेस्रो नौमती महोत्सवमा महोत्सव स्थलमा सम्मान ग्रहण गर्दै (फोटो: रविलाल पौडेल/देविराम घिमिरे)


कमजोर शारीरिक अवस्थाका अघि आफूलाई सम्मान गर्न बोलाइएकै कार्यक्रममा उपस्थित हुने इच्छाको पनि केही जोर चलेन। त्यस्तो आमन्त्रण अस्वीकार गर्नुपर्ने अर्को कुनै ठुलो कारण हुने कुरा पनि त भएन। आत्मीय मित्रहरुको प्रेमपूर्ण निमन्त्रणालाई स्वीकार गर्न असमर्थ भएकोमा क्षमा याचना गर्दछु। यसले मन नरमाइलो हुने नै भयो। विक्षिप्त नै बनायो। हुन त यस्ता घटनाहरु बिर्सने वा बेवास्ता गर्ने बानी परिसकेको छ। यद्यपि चोटको गाम्भीयर्ताले पनि पिडाको मात्रा निर्धारण गर्ने कुरा पनि सत्य रहेछ।

कार्यक्रम स्थलमा उपस्थित हुन असमर्थ भएपनि मेरै निवासमा पाल्नुभई साक्षात्कार गर्ने अवसर र मायाको चिनो प्रदान गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछु। अनेक सिमितताका बाबजुद म प्रति सद्भाव र विश्वास देखाई जिम्मेवारी प्रदान गर्नुहुने अनन्य मित्रद्वय संस्थाका अध्यक्ष श्री बैकुण्ठ रायमाझी ज्यू र महासचिव श्री हेमनाथ खराल ज्यू प्रति हार्दिक आभार व्यक्त गर्दछु। तपाईंहरूको प्रेम र सद्भाव सदैव कायम रहने विश्वास लिएको छु। धन्यवाद!

Dark Template